Hetauda Online - हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
The first website dedicated to the people of clean and green city Hetauda.
अन्तरवार्ता

हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।


अन्तरवार्ता 31 पटक पढिएको हेटौंडा अनलाईन २०७४ जेष्ठ ०७ आइतवार


हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
रीता ताम्राकार समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।

अन्तरर्वार्ता अंश:

१. साहित्य लाई कसरी हेर्नु हुन्छ ? यसले समाजलाई कसरी परिवर्तन गराउन सक्छ ?

• साहित्य जीवन,जगत , समय को छाँया र देखिएका,भोगिएका,अनुभूति गरिएका यर्थाथहरु लाई शाष्दिक शिल्प द्धारा अभिव्यक्त गरिने माध्यम हो । शब्दहरु को सुन्दर बुनोट बाट समाज मा चेतना,सकारात्मक सोंच,भावनाका संवेगहरु सम्प्रेषण गरेर विद्यमान विकृति र विसंगतीहरु हटाई समाज मा परिर्तन ल्याउन सकिन्छ । जीवन र जगत का विविध परिस्थिति प्रति मानिस को सहानभूति,संवेदनशिलता जगाउने र बढाउने प्रकार को साहित्य बाट परिवर्तन को उज्यालो भेटिन्छ । यो तिब्र गति मा नहुने हुनाले यसमा धैर्यता र संयमता को तडकालो खाँचो रहन्छ ।

२. हजुर साहित्य क्षेत्र मा कहिले बाट लाग्नु भयो ? यो क्षेत्र मा लाग्न कसको प्रेरणा थियो ?

• म र साहित्य को कुरा गर्नु भन्दा अधि केहि प्रसाङ्ग जोडनु जरुरी हुन्छ मैले । सामाजिक र आर्थिक रुप ले कमजोर भएपछि समाज मा बाँच्न ज्यादै गाह्रो हुँदो रहेछ । त्यति बेला समाज, आफन्त र आफ्नै बाट पनि तिरस्कार,अवहेलना,उपेक्षा धेरै पाईदों रहेछ । त्यस्तो अवस्था मा मन,मष्तिस्क हृदय अत्यन्तै मर्माहत भई भावुकता को सागर मा डुब्छ । उकुसमुकुसिएका विरोध का स्वरहरु सुसाउन नसक्दा त्यस लाई व्यक्त गर्न कागज र कलम ठुलो सहारा बन्थ्यो मेरो । म त्यति बेला मेरा मन मा उर्लेका भावनाहरु अक्षर को रुप मा छताछुल्ल पोख्थेँ । लेखेका कुरा निक्कै दिन सम्म पटक पटक पढि रहन्थेँ  र च्यात्थेँ । यो क्रम निकै वर्ष सम्म चल्यो । सायद म भित्र केहि साहित्यीक बिजहरु थिए होलान जस लाई खुट्याउन म असमर्थ थिएँ । साहित्य रच्छु वा कथा लेखछु भनेर लेखेको पहिलो कथा हो “ भत्किएका चाहना” २०५३ मा । टुहुरा केटाकेटी को मार्मिक घट्ना ले मलाई घचघचायो, चिमोट्यो ,दुखायो अनि मैले पहिलो कथा लेखें । अब  मैले स्विकार्नु पर्छ त्यस समय देखि म साहित्य मा कछुवा को गति मा लागेँ । हुन त अपार गरिबी,जीवन का विविध अप्ठयारा मोड कुईनेटाहरु र तर्न कठिन जङ्घारहरु को कटु भोगाई बाट उर्लेका भावहरु ले नै मलाई लेख्न बाध्य बनायो होला । तर पनि म आफ्नो प्रेरणा को श्रोत वरिष्ठ कथाकार श्री माया ठकुरी ज्यू लाई मान्छु । म उहाँ  को कथाकारिता र संघर्ष पूर्ण जीवन गाथा बाट अत्यन्तै प्रभावित छु । म पनि बच्चा बेला देखि नै बाँच्न र बचाउन संघर्षरत छोरी भएर नै होला यो संयोग जुरेको ।

३. युवा अवस्था मा हजुर को रुची कुन कुन क्षेत्र मा थियो ?

• मेरो रुची बाल्यवस्था देखि युवाअवस्था सम्म सिप का काम मा (हस्तकला), अध्ययन र पाककला तिर रहेको छ । जो आज सम्म पनि कायमै छ । पुस्तक पढ्ने जति नै रुची भए पनि पुस्तक नहुनु र किन्न नसक्नु मेरो विवसता थियो विगत मा । हात को सिप को माध्यम ले पारिवारिक गुजारा गर्नु पर्ने मैले । आफ्नो अध्यन को रुचि लाई मार्न नसकेर पेट को भोक र विविध आवश्यकताहरु लाई कटौती गर्दै भाडा मा पुराना पुस्तकहरु पनि पढ्नु परेको छ विगत मा मैले । मेरो पुस्तक तिर्खा लाई मैले एसओएस बालग्राम मा काम गर्न थालेपछि सहजरुप मा  मेट्न पाँए । आँफै ले पनि धेरथोर किनेर पढ्न सेकेँ भने स्कुल को पुस्तकालय बाट धेरै पुस्तक पढ्न पाएँ । बितेका केहि समय मा मलाई धर्म कर्म,ब्रत,पुजापाठ मा खुब रुची थियो । अहिले आएर लाग्छ मन्दिर भित्र अवस्थित मानव निर्मित मूर्ति र नदि किनार का निर्जिव ढुङ्गाहरु मा अक्षता,भेटी,नैवेध चढाएर धुप धुमाएर धर्म हुन्छ भन्नु एउटा भ्रम मात्र हो ।ईश्वर को बास त मानव को आत्मा मा हुन्छ । त्यसैले पुजाआजा र ब्रत बस्ने काम गर्दिन । गीत संगित ज्यादै मन पर्छ । गित सुन्दै सगँसँगै गाउने खुब जोश चल्थ्यो पहिला । अहिले सुन्छु मात्र गाउन लाज लाग्छ । राष्ट्रिय गीत र कर्णप्रिय आधुनिक गीत मन पर्छ बढी ।

४. हजुर का प्रकाशित कृतिहरु कुन कुन छन ? र कहिले  कहाँ बाट प्रकाशित भएका छन ?

• मेरा प्रकाशित कृति मात्र दुई वटा छन् । पहिलो कथा संग्रह “तुषारापात” र दोश्रो कथा संग्रह “दृश्य परिदृश्य” । पहिलो २०६१ भदौ मा वाणी प्रकाशन विराटनगर बाट प्रकाशित भएको हो । दोश्रो २०७३ भदौ मा पूर्वान्चल साहित्य प्रतिष्ठान विराटनगर बाट प्रकाशित भएको हो । दुई संग्रह मा पुरै बाह्र बर्ष को अन्तर छ । बाह्र बर्ष  पछि खोला पनि फर्कन्छ भन्ने उखान चरितार्थ पारे जस्तो देखिन्छ । तर यो मात्र एउटा संयोग हो ।

५. हजुर का प्रकाशोन्मुख कृतिहरु कुन कुन छन  र कहिले प्रकाशित हुँदैछन ?

• मेरो सार्वाधिक प्रिय विद्या र आफ्नो अनुभूति लाई शब्द मा पोख्न सहज पनि कथा लेख्दा नै महसुश हुने भएकोले म कथा साहित्य मा नै भिजेकी छु । हुन त म यदाकदा कविता,गजल,लेख र लधुकथा पनि लेख्छु । तर यी विद्याहरु लाई पुस्तकार रुप दिने कुनै सोँच छैन । मेरो अब प्रकाशित हुने कृतिहरु पनि कथा संग्रहहरु नै हुन् । नाम सोचि सकेकी छैन । तयारी मा चाँहि लागि परेकी छु । पुस्तक लेख्न भन्दा छपाउन गाह्रो छपाउन भन्दा व्यवस्थापन गर्न गाह्रो । आम लेखकले भोग्नु परेको पीडा बाट म पनि अछुतो छैन । पहुँच  ,पावर र पैसा को अभाव मा कयौं सर्जकहरु प्रत्याडित भई रहेको देश कै नागरिक म पनि भएकी ले यो प्रत्याडना मैले भोग्नु कुनै नौलो र अनौठो काम पक्कै होइन। तयारी मा रहेको पुस्तक कहिले प्रकाशन हुने हो त्यस को जीम्मा समय लाई नै सुम्पेकी छु ।

६. हजुर कुन कुन सघं संस्था मा आवद्ध हुनुहुन्छ र कुन कुन संस्था मा कुन पद को जिम्मेवारी वहन गर्नु भएको छ ?

• म साहित्य तर्फ साहित्य सञ्चार प्रतिष्ठान इटहरी को संस्थापक सदस्य, वाणी प्रकाशन विराटनगर को आजिवन सदस्य ,अच्छा राई रसीक प्रतिष्ठान इटहरी को आजिवन सदस्य ,इटहरी साहित्यीक समूह को आजिवन सदस्य,मोती संस्मरण समिति धरान को आजिवन सदस्य , साहित्य सन्चार प्रतिष्ठान को कार्यकारीणी सदस्य छु भने विगत मा किसान कल्याण बचत तथा ऋण सहकारी संस्था को उपाध्यक्ष रहेकी थिएँ । म अलिक सामान्य घरेलु प्रकृति की भएकी ले बाहिर सघं संस्था तिर त्यति भुल्दीन । अफिस र घर मै सिमित जस्तै हुन्छु ।

७. हजुर को हालसम्म गरेका सम्मान,संम्मान गर्ने संस्था को नाम र मिति बताई दिनु हुन्छ कि ?

• मैले जीवन मा मात्र एक पटक मात्र सम्मान पाएकी छु । इटहरी साहित्यीक समुह र इटहरी नगरपालिका को सहकार्य मा गरिएको सम्मान हो । त्यो २०६५ असोज मा हो ।  

तर म त्यो सम्मान को लायक र योग्य कसरी भएँ र किन मलाई सम्मान गरियो  आज सम्म पनि बुझ्न नसकेर अलमल्ल मा नै छु । यो त भयो भौतिक रुप मा देखिएको सम्मान । तर मैले अमूल्य रुप मा पाएकी आत्मीयता पूर्ण भावनात्मक पुरस्कार र सम्मान को कुरा गरिन भने मेरो आत्माले मलाई धिक्कार्ने छ । म सँग गाँसिन आइपुग्ने अति निम्न आर्थिक अवस्था का असाहय निमुखाहरु लाई आत्मनिर्भरता को निम्ति  सीप,संधर्ष का लागि हौसला प्रोत्साहन र जुधारु बन्न को निम्ति हिम्मत दिएर पाठाए को केहि समय पछि मुहारभरि छताछुल्ल खुशी पोतेर छोराछोरी डोर्याउँदै मलाई भेट्न आउँछन् । कोही श्रद्धा बोकेर दशैं मा टीका थाप्न आउँछन । त्यसबेला मैले केहि दिन नसके पनि मेरो आर्शिवाद,साथ र स्नेह पाएर उनीहरु ले महशुस गरेको सन्तुष्टि नै ठुलो सम्मान हो मेरो निम्ति । अर्को पाटो बाट यो प्रसँग चिहाउँदा मेरा अधिकांश पाठकहरु जो म जस्तै साधारण ,सामान्य तर मनभरि मानविय संवेदनशिलता ले ओतप्रोत भएका हुनुहुन्छ, उहाँहरु बाट पाईने हृदय स्पर्शी प्रतिक्रिया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो । जो निरन्तर रुप मा मैले पाई रहेकी छु ।

८. पहिला हजुर कुन पेसा  मा आबद्ध हुनुहुन्थ्यो ? हाल कहाँ के गर्दै दिनचर्या बिताउनु भएको छ ?

 • विगत २३ बर्ष देखि एसओएस बालग्राम इटहरी को हाताभित्र संचालित सीप विकाश तालिम केन्द्र धरानमा महिला दिदी बहिनी लाई सिप सिकाएर आत्मनिर्भर बनाउने काम गरी रहेकी छु । यहाँ काम गर्नुभन्दा अधि म लाखे शिल्पकला तालिम केन्द्र मा काम गर्थें । आउँदो दिन मा पनि आफ्नो उमेर को हदबन्दी ले दिए सम्म यहि काम गर्ने छु । मैले सिकाउने सिपहरु मा सिलाई कटाई,मेशिन ईम्ब्रोडरी, हाते कढाई र फेब्रिक पेन्टिङ्ग गरेर जम्मा चार विषय पर्छ । हाम्रो तालिम केन्द्र मा प्रायजसो पछाडीएका थारु समुदाय, मुसहर समुदाय बाट र परित्यकत्ता अनि एकल महिला लाई छानेर प्रशिक्षण दिईन्छ । जो निकै कठिन र चुनौति पूर्ण हुन्छ । तर जब उनीहरु सफल हुन्छन र आत्मनिर्भर भई आय आर्जन गर्छन् त्यतिबेला को खुसी र सन्तुष्टि अवर्णनिय हुन्छ । विगत केहि बर्ष देखि सीप सगँसँगै  निरक्षर लाई साक्षर पार्ने कार्य पनि गरि रहेकी छु । सायद त्यसैले होला एउटा सञ्चार माध्यम को अन्तरवार्ता मा परिचय को क्रम मा साहित्यकार र समाजसेवी सम्बोधन गरेको मलाई । त्यो सम्बोधन ले अप्ठयारो मा परेको महशुस गरें । म साहित्य को ईमान्दार पाठक हुँ । समाजसेवी को ताज मेरो शिर मा राख्न म योग्य छैन। किनकी समाज को लागि मैले केही गर्न सकेकी नै कहाँ छु र !

२०३१ साल मा पहाड बाट मधेश बसाई झरे पछि २०५० साल सम्म धरान बस्यौं । २०५० साल को माघ मा इटहरी सर्यौँ  । २०५० देखि २०५४ सम्म डेरागरि बसेपछि २०५५ बाट साविक एकम्बा गा.वि.स.वडा नं.४ मा स्थायी बसोबास गर्दै आएकी छु । बालग्राम चोक को नाम ले चिनिने हाम्रो टोल हाल इटहरी उप–महानगरपालिका अन्तर्गत वडा नं.१६ मा पर्छ ।

मेरो बुवा र एक मात्र भाई को मुत्यु धेरै वर्ष अगाडि भएको हो । अहिले म सँग असी वर्ष पुग्न लाग्नु भएकी मेरी फुपु र पचहत्तर पुग्न  लाग्नु भएकी मेरी आमा हुनु हुन्छ । साथ मा मेरी एक मात्र बहिनी को माईती  र छोराछोरी को मावाली हुँ म । उहाँ हरु सबै प्रति कर्तव्य ,दायित्व, जिम्मेवारी पुरा गर्दै जागिर र घर व्यवहार बाट बचेको थोरै समय लाई साहित्य साधना मा लगाउने गरेकी छु मैले ।

९. साहित्य क्षेत्र मा लागे पछिका समयमा केही अविस्मरणीय घटना भए बताई दिनु हुन्छ कि ?

• मानिस का सम्झना मा दोहरी रहने घटनाहरु त धेरै हुन्छन् ।र मसँग पनि छ । त्यस मध्ये एउटा सम्झन चाहन्छु ।साहित्य मा जस बाट धेरै प्रभावित भएं र जस लाई प्रेरणा को श्रोत मानें ।उहाँ सँग पहिलो फोन वार्ता गरायो मेरो पहिलो कथा संग्रह तुषारापात ले २०६१ साउन महिना मा ।त्यस पछी निरन्तर दस बर्ष को लामो समय सम्म फोन बाट नै उहाँ को ममता ,स्नेह,आत्मियता र प्रोत्साहन पाई रहें एक दशक पछि२०७१ कार्तिक २४ गते प्रज्ञाभवन को प्राङ्गण मा दिउँसो बाह्र बजे उहाँ सँग प्रत्यक्ष भेट भयो । थाहा छैन म भित्र कस्ता कस्ता भावना ,संवेग,श्रद्धा का तरंगहरु उर्ल्यो । मुख बोल्न सकेन पटक्कै मात्र आँसु को बाटो  रोजेर आँखा मात्र बोली रहयो निशब्द । वहाँ पनि अत्यन्तै भावुक हुनु भयो । मलाइ अंगालेर भन्नू भयो ।  धेरै बर्ष पछि छोरी भेटे जस्तै लाग्यो । यो थियो मैले बिर्सनै नसक्ने वरिष्ठ कथाकार श्रद्देय दिदी माया ठकुरी ज्यु सँग को मेरो भेट । जो मेरो लागि अविस्मरणीय छ ।

१०. जीवन के हो ? यस लाई कुन रुप मा बुझ्नु हुन्छ  ? 

• जिवन लाई मानिस आ आफ्नै परिभाषा मा अर्थ्याउँछन ।मेरो भोगाई मा जीवन संघर्ष,सम्झौता ,धैर्यता र चुनौती को संगम हो ।र हो जीवन अनुभव को शृङ्खला पनि । जीवन लाई अनेक मोड,कुईनेटो र जंघारहरु मा सुख दु:ख को पाठ पढाउने पाठशाला को रुप मा मैले बुझेकी छु ।

११. अन्त्य मा मैले सोध्न भुलेका र हजुर ले पाठक सामु पुर्याउनु पर्ने आफ्ना मन मा गुम्सिएर रहेका केही कुराहरु भनिदिनु होस न ।

• मेरो पहिलो कथा  संग्रह मा नारी जनित आवाज गुन्जिएको कारण ले अग्रज स्रष्टा,विज्ञहरु र समालोचकहरु बाट मेरा कथा लाई नारी प्रधान कथा का पङ्ती मा उभ्याईयो भने दोश्रो संग्रह मा ती आवाजहरु अझ चर्किएछ कि कसो ? उग्र नारीवाद का स्वर बोकेका कथाहरु मा पो पुगे मेरा कथाहरु । तर मेरो अभिष्ट त्यो पक्कै होइन । आफ्नो कार्यक्षेत्र को परिधी र सिमामा ठोक्किन गाँसिन आई पुग्ने रुगण ,भग्न,घाईते,व्यथित नारी मनहरु लाई पढ्दा पढ्दै र तिनीहरु को प्रशिक्षक ,आमा ,दिदी,बहिनी,साथी र मितिनी आदी ईत्यादि बन्दै उनीहरु को मन र आफ्नो मन एउटै ठेकी मा राखि मदानी ले मथ्दै  अन्तरह्रदय बाट लेखिएका कथा भएर होला त्यस्तो लाग्न पुगेको । तर म यति विश्वास साथ भन्न सक्छु । मेरा कथाहरु मा नारी आवाज गुन्जीए पनि ,नारी पात्रहरु बढि देखिए पनि र नारी संवाहक चेतनाहरु देखा परे पनि नारीवादी बनेर मैले कुनै पनि पुरुष पात्र माथि अनावश्यक आक्षेप लगाएर अन्याय गरेकी छैन । मैले जुनै पात्र को बाहुल्यता कथा मा बनाए पनि समाज मा भएका , घटेका सामाजिक यथार्थता र घटना दुर्घटना का दृश्य परिदृश्य लाई शब्द मा शिल्प थपेर बुनेकी सम्म हुँ । दोश्रो कथा संग्रह को प्रकाशन पछि निकै पाठकहरु ले मेरो कलम बाट पुरुष का कथा,व्यथा भोगाईहरु मा पनि सिर्जना चाहनु भएको प्रत्यक्ष अप्रत्यक्ष महसुश गर्न पुगेकी छु मैले । तेश्रो कथा संग्रह यस कुरा लाई मध्य नजर गरी तयारी गर्दैछु ।

लामो समय पछि साहित्य क्षेत्र मा फर्कदां मैले महशुस गर्न पुगेकी छु कि हाम्रो देश को साहित्यिक फाँट लाई पनि राजनिती करण ,गुटबन्दी,नातावाद  ,कृपावाद,चाकडी,चापलुसी र खुट्टा तान्ने रोग ले छोएको रहेछ । यो मेरो भ्रम मात्र पनि हुन सक्छ । कामना गर्दछु भ्रम नै रहोस् । यदि एस मा यथार्थ छ भने त्यस बाट हामी सबै साहित्य अनुरागीहरु टाढिनु पर्छ । पँहुच पावर र पैसा नभएका प्रतिभाहरु ले पनि मौलाउने अवसर पाउनु पर्छ । स्वच्छ र स्वास्थ्य रुप मा साहित्यीक गतिविधीहरु हुनु पर्छ । यस्तो भए मा हाम्रो नेपाली  साहित्य भण्डार  मौलाउँदै विश्वभरि मगमगाउने छ भन्ने विश्वास लाग्छ मलाई । स्रोत: नव साहित्य 

 उहाँको बारेमा थप जानकारी नव साहित्यमा हेर्नुहोस । 





कमेन्टसहरु



लोकप्रिय



12814646 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top