The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

पर्यटन विकासको सम्भावना मा रसुवाको चुनौती


विचार/दृष्टिकोण 17 पटक पढिएको फुर्पा तमाङ २०७४ श्रावन ०८ आइतवार


पर्यटन विकासको सम्भावना मा रसुवाको चुनौती


श्रावन ०८ आइतवार, रसुवा । पर्यटन विकासका लागि पछिल्लो समयमा हिमालयको प्रकृति सौन्दर्यसँग मात्र सीमित रहेन । त्यस क्षेत्रमा बसोवास गर्ने जातजातिको धर्म, संस्कृति, पेसा, व्यवसाय आदिले पनि आकर्षण गर्न थाल्यो ।

पृष्ठभूमि


रसुवा जिल्ला नेपालका हिमाली जिल्लामध्ये एक हो । हिमाली क्षेत्रलाई भौगोलिक रूपमा सुन्दर, शान्त र स्वच्छ भूमिको रूपमा हेरिन्छ । यसकारण नेपालमा जहिलेदेखि पर्यटन विकासको सुरुवात भयो तबदेखि विदेशी पर्यटक यहाँका भौगोलिक सुन्दरता हेर्न आउन थालेका थिए । यो क्रम अझै जारी छ । पर्यटन विकासका लागि पछिल्लो समयमा हिमालयको प्रकृति सौन्दर्यसँग मात्र सीमित रहेन । त्यस क्षेत्रमा बसोवास गर्ने जातजातिको धर्म, संस्कृति, पेसा, व्यवसाय आदिले पनि आकर्षण गर्न थाल्यो । विशेषगरी यस जिल्लामा आदिवासी जनजातिको बाहुल्य रहेको छ । जनगणना ०६८ अनुसार यस जिल्लाको कुल जनसङ्ख्या महिला र पुरुष गरी ४३,९०७ छ । यसमा आदिवासी जनजातिको ८५ प्रतिशत र तामाङ जातिको मात्रै ६९ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । यसकारण यस जिल्लामा बाह्रै महिना सेताम्मे रहने लाङटाङ, गङक्षेम्बो, सिसापङ्मा, यालापिक, गोसाइँकुण्ड पिक, सूर्यकुण्ड पिक, पल्दोर पिकजस्ता हिमाल मात्र छैनन् बरु जैविक विविधता, सिमसार, कुण्डहरू, विभिन्न जातजातिका धर्म, संस्कृति, गाउँले जीवनशैली आदिले पनि पर्यटकलाई आकर्षण गरिरहेका हुन्छन् । पर्यटनलाई आकर्षण गर्ने निम्न आधारहरू रहेका छन्

सुन्दर हिमाल


यस जिल्लामा लाङटाङ रेन्जअन्तर्गत धेरै हिमशृङ्खला पर्छन् । सबैभन्दा बढी उचाइमा लाङटाङ लिरुङलाई लिइन्छ । यसको उचाइ समुद्री सतहबाट ७,२३४ मिटर रहेको छ । यसैगरी लाङटाङ री, ७,२०५ मिटर, दोर्जे ल्हाक्पा ६,९६६ मिटर, लेन्पो गाङ ६,९७९ मिटर, च्याङ्बु ६,७८१ मिटर, याङ्सा च्छेन्जी ६,६९० मिटर, ख्युङ्कर री ६,६०१ मिटर, डोक्पा च्ये ६,५६२ मिटर, लाङसिसा री ६,४२७ मिटर, गाङक्षेम्पो ६,३८७ मिटर, मोरिमोतो ६,१५० मिटर, छो गाका ५,८४६ मिटर, यालापिक ५,५२० मिटर, गोसाइँकुण्ड—सूर्यपिक ५,१४५ मिटर, गन्जला (नयाँ कङ्गा) ५,८४४ मिटर, गणेश १, ७,४२२ मिटर, गणेश २, ७,११८ मिटर, गणेश ३, ७,०४३ मिटर, गणेश ४, ७,१०४ मिटर, पल्दोर पिक ५,८९६ मिटर आदि रहेका छन् । यी हिमाल आरोहण गर्न मात्र होइन, टाढाबाट हेर्न पनि त्यत्तिकै सुन्दर छन् । तामाङ सम्पदा मार्गको नकथली र तरुक्षे डाँडाबाट गणेश हिमाल रेन्ज, तिब्बती हिमालको रेन्ज, लाङटाङ रेन्ज र गोसाइँकुण्ड रेन्जका हिमाल १८० डिग्रीमा हेर्न सकिन्छ । क्याङजेन गुम्बा पुग्दा लाङटाङ लिरुङ, गाङक्षेम्पो, दोर्जे ल्हाक्पालगायतका हिमाललाई हातैले छुन सकिएलाझैँ आँखाअगाडि उभिन आइपुग्छन् । लाग्छ यी हिमाल हिमकमल सुन्दरी हुन् जुन बाह्रै महिना फुलिरहन्छन् र हेरिरहुँ लागिरहन्छ । यिनै सुन्दर हिमालका दृश्यको मोहनीले गर्दा विदेशी पर्यटक दर्जनौँपटक घुम्न र हेर्न आइरहन्छन् ।


सुन्दर लाङटाङ हिमाल

कुण्डहरूको जिल्ला

यस जिल्लामा धेरै कुण्ड रहेका छन् । रसुवामा १०८ वटा कुण्ड रहेको बताइन्छ । तीमध्ये धार्मिक–सांस्कृतिक पर्यटनका लागि ४,३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड महत्वपूर्ण मानिन्छन् । यो कुण्ड विश्व रामसार सूचीमा समेत सूचीकृत छ । यसका साथै हिमालयको काखमा रहेका सुन्दर कुण्डहरू जस्तै, सूर्यकुण्ड, भैरवकुण्ड, दूधकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, जेसुर (जागेश्वरकुण्ड), नौकुण्ड आदि प्रसिद्ध छन् । यी कुण्डमा पुग्दा मन चङ्गा भएको अनुभूति मिल्छ ।

तातो पानीको मुहान

धारा, खोला र झर्नाको पानी छोइनसक्नु चिसो हुन्छ । तर, त्यसैको छेउमा जमिनबाट तातो वाफ निकालेर तातोपानीको मुहान पनि भेटिन्छन् । तातोपानीमा नुहाउनाले छाला, बाथ, नसा र हड्डी दुख्ने रोग आदि निको हुन्छन् । यस्तो पानीको मुहान चिलिमे, स्याफ्रु, भार्खु, पैरे, टिमुरे आदि क्षेत्रमा छन् । एकपटक तातोपानीमा नुहाएका स्वदेशी तथा विदेशी पर्यटक घरीघरी आइरहन्छन् । यसकारण तातोपानीलाई ओखती पानीको रूपमा पनि लिन सकिन्छ ।

जैविक विविधता

यो जिल्लाको जैविक विविधताले पनि पर्यटनलाई ठूलो आकर्षण गरिरहेको छ । दुर्लभ हिउँचितुवा, रेडपाण्डा, हिमाली भालु, नाउर, थार, कस्तुरी, रातो प्रजातिको हिमाली पाहा (तामाङ भाषामा पिर्ङा), लङ्गुर बाँदर, डाँफे, मुनाल, कालिज, काँडे भ्याकुर, याक, चौँरी, बरुवाल भेडाबाख्रा, भोटेकुकुर, विभिन्न प्रजातिका दुर्लभ च्याउ, ल्यारेक्स सल्लो, रङ्गीबिरङ्गी पुतली र किराहरू (माहुरी, भीरमाहुरी) आदि पाइन्छन् । कुट्की, निर्मसी, विष, पाषणभेद, सर्मागुरु, महागुरु, पदमचाल, पाँचऔँले, चिराइतो, बनलसुन, बोजो, शिलाजित आदि बहुमूल्य जडीबुटी पाइन्छन् । यी दुर्लभ चिजवस्तुहरू कुनै त हेर्दा राम्रो देखिने तथा कुनै औषधिका लागि प्रयोग हुने हुनाले र अनुसन्धानकर्ताका लागि यो क्षेत्रलाई प्राकृतिक विश्वविद्यालयभन्दा फरक पर्दैन ।

धार्मिकस्थल गोसाइँकुण्ड

हाइड्रो पावरको सम्भावना

देशकै नमुना जलविद्युत्को रूपमा चिनिएको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना यस जिल्लामा पर्दछ । हिमालको हिउँ पग्लिएर पानी भई जहिल्यै तलतिर बगेर खेर गइरहेको हिमनदीलाई हाइड्रोपावर (ऊर्जा) निकालेर विद्युत् विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । हिमनदीहरू झर्ना, खोला र नदी भएर अविरल बगिरहनु र भूमिगत जलविद्युत् निकाल्न यहाँको बलियो चट्टानको भीरपाखा उपयुक्त साबित भइसकेको छ । यस जिल्लामा भएका जलस्रोतको हाइड्रोपावर उत्पादनमा उपयोग हुने हो भने हाइड्रोपावर पर्यटन क्षेत्र घोषणा गर्न सकिन्छ । यसले विश्वका हाइड्रोपावरसम्बन्धी विज्ञ, विश्वविद्यालयका विद्यार्थी, शोधकर्ता एवम् अनुसन्धानकर्तालाई यो क्षेत्र भ्रमण अध्ययनका लागि आकर्षणको केन्द्र बन्न सक्छ ।

धार्मिक–सांस्कृतिक पर्यटन

यो जिल्लामा ८५ प्रतिशत आदिवासी जनजाति र ६९ प्रतिशत तामाङ जाति रहेका छन् । उनीहरूको आफ्नो पहिचान झल्किने भाषा, वेशभूषा, रहनसहन, जीवनशैली रहँदै आएको छ । परैबाट फलानो जातिको गाउँ रहेछ भनेर गाउँघरको बनोटबाट चिन्न सकिन्छ । बौद्ध र बोन धर्मको संस्कृतिले धार्मिक पर्यटनलाई मात्र नभएर अन्य पर्यटकलाई समेत उनीहरूले मान्ने चाडपर्व, धार्मिक मेला, पूजापाठ, जन्म, विवाह र मृत्यु संस्कारमा गरिने धार्मिक कार्यहरू हेर्न लायकका हुन्छन् । तामाङ जातिको बाहुल्य भएको हुनाले जिल्लाको उत्तर–पश्चिम (नुप्पा) गाउँलाई तामाङ सम्पदा पदमार्ग भनेर नेपाल सरकारले घोषणा गरी कार्यक्रम लागू गरिएको थियो । पूर्वका गाउँ लाङटाङ पदयात्रा मार्गको रूपमा देशकै तेस्रो पर्यटीय गन्तव्यको रूपमा चिनिँदै आएको छ । अझै पनि धेरै गाउँमा तामाङ, गुरुङ, नेवार, मगर आदिको पहिचान झल्किने संस्कृति जिवन्त छन् । बाह्रै महिना कुनै न कुनै नाच, गान, मेला आदि भइरहन्छन् । साथै बाहुन–क्षेत्रीका पनि बालन नाच, रुद्री, सप्ताह लाउने, चण्डी, गरुड पुराण सुनाउने, विवाहमण्डप बनाउनेजस्ता संस्कृतिले पर्यटनहरूलाई मनोरञ्जन दिन सक्छन् ।

कृषि पर्यटन

हिजोआज विश्वभरि नै अर्गानिक खानाको बढ्दो माग हुँदै गएको छ । स्वस्थ जीवन जिउन स्वच्छ वातावरण, शुद्ध हावापानी र स्वस्थ खाना खानुपर्ने हुन्छ । यो कुरामा लगभग सबै सहमत छन् । तैपनि बढ्दो जनसङ्ख्याको चाप र थोरै अवधिमा धेरै नाफा कमाउने उद्देश्यबाट कृषि क्षेत्र पनि अछुतो रहन सकेन । यद्यपि कतिपय जग्गाहरू अझै पनि कीटनासक औषधि र रासायनिक मलबाट टाढा छन् । यो जिल्ला हिमाली तथा उच्च पहाडी जिल्ला भएको हुनाले यहाँको खेतीपाती पनि पुरानै शैलीमा छ । पशुपालन पनि जीवन निर्वाह र पुख्र्यौली पेसाको रूपमा अँगाल्दै आएकाले खेतबारीमा गोबरमलको प्रयोग गरी अन्नबाली उब्जनी गर्दै आएका छन् । यसरी उब्जाउ गरेको खानेकुरा तागतिलो र स्वस्थबद्र्धक हुन्छ । यो कुराको प्रचारप्रसार गर्न सके पर्यटकको ध्यान यतातिर खिच्न सक्ने सम्भावना रहन्छ । पैसो तिरेर रोग किन्नु कसलाई पनि मन पर्दैन । जडीबुटी खाएको याकचौँरी, भेडाबाख्रा, गाईवस्तुको मासु, दूध, छुर्पी, चिज, नौनी, चिसोपानीमा हुर्काएको ट्राउट माछा, घरको अन्न खुवाएर पालेको साखिने कुखुराको मासु, अन्डा, लेकमा फलाएको रातो चामलको भात, सिमीको तरकारी, गान्टे मूलाको अचार, कालो मुसुरोको दाल, करु, फापर, गहुँ, कोदो र जौको ढिँडोको स्वाद चाखेपछि नपल्किने को होला ? कोदाको तिनपाने रक्सी, मकैको जाँड, लालीगुराँसको जुस, वाइन खाएपछि कुनचाहिँको जिब्रोले नमिठो भन्ला ?


चुनौती


क. सरकारी उदासीनता:

नेपाल सरकारले रसुवाको लाङटाङ क्षेत्रलाई तेस्रो पर्यटकीय गन्तव्यको रूपमा घोषणा गरेको धेरै वर्ष भयो । यसैगरी एक दशकअघि जिल्लाको उत्तर–पश्चिमी गाउँलाई समेटेर तामाङ सम्पदा पदमार्ग भनेर कार्यक्रम लागू ग¥यो । यद्यपि पर्यटनको राम्रो विकास हुन सकेको छैन । मूलतः पर्यटन विकासको पूर्वाधारहरू तयार गर्न सकेन । पर्यटन विकासका लागि पहिलो सर्त भनेको बाटो हो । रसुवा जिल्ला प्रवेशका लागि सडक यातायात सहज छैन । सडकको अवस्था दयनीय छ । जताततै पहिरो गएका छन् । जोखिम मोलेर यात्रा गर्नुपर्छ । दुई दशक बित्दा पनि पासाङ ल्हामु राजमार्गको राम्चे, मूलखर्क र ठाडे खण्डको पहिरो नियन्त्रण गर्न कुनै ठोस कार्यक्रम र योजना ल्याउन सकेन । सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्छन् । पर्यटक आरामले यात्रा गर्न पाउँदैन ।

हालैका वर्षमा नेपाल–चीन–केरुङ नाका खुलेपछि चिनियाँ पर्यटक फ्री भिसा भएकाले दिनहुँ सयौँको सङ्ख्यामा आउँछन् । तर, सडक राम्रो छैन । पहिरो र ग्राभेल बाटोमा निकै सकसले यात्रा गरिरहेका छन् । चिल्लो सडकमा सरर गुडेर आएका ती नेपालको सीमा प्रवेशपछि सडकको दुर्दशा देखेपछि फिस्स हुन्छन् । दिनहुँ सयौँकै सङ्ख्यामा गुड्ने मालबाहक गाडीले ग्राभेल सडकमा खाल्टाखुल्टी बनाएका छन् । व्यापारीले नाफा कमाउँछ र सरकारले भन्सारबाट कर उठाउँछ । सास्ती पाउनेचाहिँ यात्रु । सधैँ यस्तै रहिरहे दुःख र सास्ती खेप्न के पर्यटक आइरहलान् ?

सडक नपुगेका पैदलमार्ग पनि उत्तिकै जोखिम छ । बाटोमा साइनबोर्डसम्म राखिँदैन । भीरको बाटो कतिपय असुरक्षित छन् । चिप्लिएर लड्यो भने लास भेट्न सकिन्न । खोलाहरूमा पुलपुलेसाको समस्या छ । सरकारले यति मात्र गरिदिने हो भने पर्यटकको सङ्ख्यामा वृद्धि हुने कुरामा दुईमत रहन्न ।

ख. व्यवसायीको अस्वस्थ प्रतिस्पर्धा:

यो जिल्लाका पर्यटन व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । कतिपय होटेल र लजमा विदेशी पर्यटन ल्याउने गाइडलाई निःशुल्क खाना, बास, बियर, रक्सी दिनुको साथै कमिसन पनि दिने गरेको बताइन्छ । तर, यस्तो सुविधा नेपाली पर्यटकलाई भने छैन । नेपाल पर्यटन बोर्ड, टान, नाटा आदि पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी र गैरसरकारी संस्थाहरूले राजनीति गर्न बन्द गरी व्यावसायिक दक्षताका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा त्यस्तो पाइँदैन । बरु, एकपछि अर्को संस्था स्थापना गर्दै राजनीतिक क्रियाकलापमा बढी प्रतिस्पर्धा गरेको पाइन्छ ।

ग. हस्पिटालिटीमा कमी ः अझै पनि व्यवसायीले पर्यटक भनेका गोरा अनुहार भएका पश्चिमी मुलुकका नागरिक वा एसियाका जापानिज, सिङ्गापुरे, कोरियन आदि मात्र हुन् भनेर बुझ्छन् । कतिपय ठाउँमा नेपाली पर्यटकलाई बास र खाना दिइँदैन भन्ने गुनासो नभएको होइन । पछिल्लो समयमा भने नेपालीले विदेशीभन्दा बढी खर्च गर्छन् भन्न थालेका छन् । व्यवसायीले होटेल र लजमा आउने जोसुकैलाई नम्र व्यवहार गर्नुपर्ने हुन्छ । सेवा दिइँदा सफा, शुद्ध र राम्रो सुविधा हुनुपर्छ । कतिपय होटेल, लजहरूमा त्यस्तो पाइँदैन ।

घ. असुरक्षित यात्रा

यो जिल्लाका पर्यटकीय गन्तव्यमा पुग्न बाटोमा यात्रा गर्न असुरक्षित महसुस हुन्छ । राष्ट्रिय निकुन्ज क्षेत्र भएको हुनाले वनजङ्गलको आक्रमण हुने डर पनि छ । बिरामी भयो भने सिटामोल, जीवनजल र घाउचोट हुँदा ह्यान्डी प्लास्ट पाउन मुस्किल छ । स्वास्थ्यचौकी वा स्वास्थ्य सेवाको ठूलो कमी छ । यसैगरी प्रहरीचौकी पनि निकै टाढा–टाढा भएको हुनाले जङ्गलभित्र यात्रा गरिरहँदा कुनै–कुनै आपराधिक घटना घट्न गयो भने शान्तिसुरक्षाको दृष्टिकोणले पहुँच सहज छैन ।

त्रिशुली नदी

सुझाब तथा निष्कर्ष

पर्यटन क्षेत्रले नगद भित्र्याउन ठूलो योगदान गरेको हुन्छ । यसले अन्तर्राष्ट्रियदेखि देशको कुनाकाप्चासम्म नगद प्रवाह गराउँछ । हवाईजहाजको कम्पनीदेखि यातायात व्यवसाय, होटेल व्यवसाय, कृषि, मजदुर, गाइड आदि धेरैलाई रोजगार दिन्छ । हिमालको पानी पग्लेर तलतिर बगेर गई नेपालको सिमाना कटेर खेर जान्छ, तर पर्यटकले ल्याएको नगद हिमालमुनिसम्म उकालो चढेर जान्छ । यसकारण पर्यटनले विश्वका विभिन्न देशका मानिसको तन र मन मात्र ल्याउने काम गर्दैन, बरु धन (लक्ष्मी) ल्याउने काम गर्दछ । अतः धन (लक्ष्मी) भित्र्याउने रसुवाको पर्यटन विकासका लागि निम्न कार्यहरू गर्न सकिन्छ :

सडक बाटोको स्तरोन्नति गर्नुपर्ने ।

पैदलमार्गहरू मर्मत गर्नुपर्ने ।

तर्न नसक्ने खोलामा पुलको व्यवस्था गर्नुपर्ने ।

विभिन्न गाउँमा भएको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र जैविक विविधताको संरक्षण गरिनुपर्ने । गत वर्ष वैशाख १२ गते र त्यसपछिका पराकम्पहरूले हाम्रा संस्कृति र पहिचान झल्काउने घर, गुम्बा र मन्दिरहरू भत्काएका छन् । तिनीहरूको पुनः संरक्षण हुनेगरी पुनर्निर्माण गरिनुपर्छ ।

व्यवसायीको व्यावसायिक ज्ञान र क्षमता अभिवृद्धि गर्नुपर्ने ।

पर्यटन व्यवसायको नाममा राजनीति गर्ने संस्थाहरू खारेज गर्नुपर्ने ।

पर्यटन क्षेत्रमा शान्ति, सुरक्षा र सुलभ सेवा सुविधाको व्यवस्था हुनुपर्ने ।

तामाङ सम्पदा पदमार्ग घोषणा र त्यो कार्यक्रमले नुप्पा गाउँमा ग्रामीण पर्यटनले सकारात्मक परिवर्तन ल्याएको छ । यद्यपि ट्रेकिङ रुट उति मिलेको छैन । काठमाडौंबाट बेत्रावती, पैरेबेसी, ठूलोगाउँ, डाँडागाउँ, तिरु, हाकु, नेसिङ, ग्रेगाउँ हुँदै गत्लाङ पुग्न सकिन्छ । गत्लाङबाट सोमदाङ हुँदै धादिङ जाने वा चिलिमेमा जोड्न सकिन्छ ।

स्याफ्रुबेसी–रसुवागढी खण्डको सडक निर्माणले पुरातात्विक महत्वका रसुवागढी किल्लालाई केही क्षति पु¥याएको थियो । गत वर्ष गएको महाभूकम्पले करिब ८० प्रतिशत किल्लामा क्षति पुगेकाले यसको पुनर्निर्माण गरिनुपर्ने ।

लाङटाङ पदमार्गमा स्याफ्रुबेसीदेखि क्याङजेन भएर पुनः सोही बाटो फर्किनुपर्ने हुँदा पर्यटकहरू उति खुसी हुँदैनन् । त्यसकारण गञ्जला पासको बाटो मर्मत गर्नुपर्ने । त्यसैगरी क्याङजेन वा लाङटाङबाट चन्दनबारी वा च्योलाङपाटी वा लौरीविनायक जोड्ने बाटो बनाई गोसाइँकुण्ड भएर हेलम्बु निस्किने विकल्प खोज्नुपर्ने ।

व्यवसायीलाई सरकारी अनुदान सहयोगको व्यवस्था गर्नुपर्ने ।

आलेख: त्रिशुली प्रवाह बाट साभार गरिएको हो 



सम्बन्धित तस्विरहरु

त्रिशुली नदी
धार्मिकस्थल गोसाइँकुण्ड
सुन्दर लाङटाङ हिमाल

कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12899324 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top